काठमाडौं, १५ चैत । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड ले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत १ गतेदेखि खुला गरेको आवेदन आजै बन्द हुन लागेको हो।
कम्पनीले कुल १ अर्ब ४ करोड रुपैयाँ जारी पूँजीको १० प्रतिशत अर्थात् १० करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो। प्रति सेयर १०० रुपैयाँ अंकित दरमा कुल १० लाख ४० हजार कित्ता सेयर स्थानीयका लागि छुट्याइएको छ।
सेयर वितरण योजनाअनुसार सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२, ३ र ४ का स्थानीयका लागि ५ लाख २० हजार कित्ता, वडा नं. ५, ६, ७ र ११ का बासिन्दाका लागि ३ लाख १२ हजार कित्ता तथा अन्य क्षेत्रका बासिन्दाका लागि २ लाख ८ हजार कित्ता सेयर छुट्याइएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
इच्छुक स्थानीय बासिन्दाले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्। साथै सोलुखुम्बुका विभिन्न बैंक शाखाबाट समेत आवेदन दिने व्यवस्था गरिएको छ।
कम्पनीका अनुसार आवेदन फाराम लिन २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

