राष्ट्र बैंक ४० अर्ब तरलता खिच्दै

spot_img

काठमार्डौँ,१५ चैत । नेपाल राष्ट्र बैंक ले वित्तीय प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न आइतबार ४० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ। केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत बोलकबोल प्रक्रिया सञ्चालन गर्न लागेको हो।

हाल बैंकिङ प्रणालीमा तरलता अत्यधिक रहेको भन्दै ब्याजदर स्थिर राख्न राष्ट्र बैंकले यस्तो कदम चाल्दै आएको छ। कुल निक्षेप ७७ खर्ब रुपैयाँ नाघिसकेको अवस्थामा तरलता व्यवस्थापन प्रमुख चुनौती बनेको छ।

बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। निक्षेप बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै रकम वितरण गरिने व्यवस्था गरिएको छ।

निक्षेप सङ्कलन प्रक्रिया अनलाइन प्रणालीमार्फत हुने छ भने ब्याजदर पनि प्रतिस्पर्धात्मक बोलकबोलबाट तय गरिनेछ। यसअन्तर्गत सङ्कलित रकमको सावाँ र ब्याज २०८३ वैशाख ६ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार दीर्घकालीन तरलता बढी देखिएमा केन्द्रीय बैंकले यस्ता उपकरण प्रयोग गर्न सक्ने प्रावधान छ। सोही व्यवस्था अनुसार राष्ट्र बैंकले पछिल्ला दिनहरूमा नियमित रूपमा तरलता खिच्दै आएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय