काठमाडौँ,१८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेशवादी दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेट गर्दै संविधान संशोधनसहित समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन्।
प्रधानमन्त्रीका सल्लाहकार असिम शाहको नेतृत्वमा कार्यदल गठन भएको भोलिपल्ट नै लामिछानेले जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक महन्थ ठाकुर र आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहसँग भेट गरेका हुन्।
भेटमा संविधान संशोधन, आर्थिक विकास तथा सामाजिक विषयमा छलफल भएको नेताहरूले बताएका छन्। भेटपछि ठाकुरले मधेशी मोर्चाको बैठक बस्ने तयारी भइरहेको जानकारी दिँदै संविधान संशोधन कार्यदलबारे लामिछानेले जानकारी गराएको बताए।
यस्तै आजपा अध्यक्ष साहले पनि आर्थिक, सामाजिक तथा विकास निर्माणका विषयमा छलफल भएको प्रतिक्रिया दिएका छन्।
लामिछानेले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई नभेटेर ठाकुरलाई भेट्नु अर्थपूर्ण रूपमा हेरिएको छ। राष्ट्रिय सभा सदस्य समेत रहेका ठाकुरसँगको भेटलाई राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ।

