बीरगन्ज,२१ चैत । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जगदम्बा समूहका अध्यक्ष शंकरलाल गोल्यान लाई पक्राउ गरेको छ। ब्यूरोको टोलीले उनलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको हो।
प्रहरी स्रोतका अनुसार गोल्यान विवादित व्यवसायी दीपक भट्ट सँगको व्यावसायिक सम्बन्धका आधारमा अनुसन्धानको दायरामा तानिएका हुन्। भट्टले स्रोत नखुलेको रकम विभिन्न क्षेत्रमा लगानी गरेको आशंकामा जगदम्बा समूहसँग सम्बन्धित कारोबारमाथि पनि छानबिन भइरहेको बताइएको छ।
गोल्यानको पक्राउबारे प्रहरीले औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक नगरे पनि उनीलाई भट्टसम्बन्धी चलिरहेको मुद्दाको अनुसन्धानकै क्रममा नियन्त्रणमा लिइएको जनाइएको छ। भट्ट पक्राउ परेसँगै उनीसँग वित्तीय सम्बन्ध रहेका अन्य व्यक्तिहरू पनि निगरानीमा परेका छन्।
स्रोतका अनुसार भट्टको बयान र प्राप्त प्रमाणका आधारमा केही ठूला उद्योगी, राजनीतिक व्यक्तित्व तथा ‘क’ वर्गका वाणिज्य बैंकका उच्च पदाधिकारीहरू समेत अनुसन्धानको घेरामा आउन सक्ने सम्भावना रहेको छ।
यस घटनाले व्यावसायिक क्षेत्रमा तरंग सिर्जना गरेको छ भने अवैध लगानी र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई प्रहरीले थप गहिरो बनाउने संकेत देखिएको छ।

