काठमाडौँ,२१ चैत । निर्वाचन आयोग नेपाल ले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुनः सञ्चालन गर्ने भएको छ।
आयोगको चैत १८ गतेको बैठकको निर्णयअनुसार कार्यक्रम पुनः सुरु गर्न लागिएको हो। यससँगै नयाँ मतदाताले नाम दर्ता तथा विवरण अद्यावधिक गर्न सक्नेछन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले अनलाइनमार्फत विवरण भरेर नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।
राष्ट्रिय परिचयपत्र नभएकाले भने आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो तथा औँठाछापसहित जैविक विवरण दर्ता गर्नुपर्नेछ।
त्यसैगरी, मतदाता नामावली प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूबाट पनि दर्ता तथा अद्यावधिक गर्न सकिने आयोगले जनाएको छ।

