काठमाडौं,२३ चैत । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकारले लिएको २८ अर्ब रुपैयाँ बराबरको ऋणबारे सदनमा स्पष्ट जानकारी गराउन माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले ऋणको उद्देश्य, खर्च हुने क्षेत्र र परियोजनाबारे सरकारबाट पारदर्शी विवरण आउनुपर्ने बताएका हुन्।
“बहुमत छ भन्दैमा मन्त्रीहरूले एक्लै निर्णय गर्ने होइन, यस्ता विषय सदनमा जानकारी गराइनुपर्छ,” उनले भने।
उनले गृहमन्त्री सुधन गुरुङको सम्पत्तिसम्बन्धी सार्वजनिक विवरणबारे पनि सत्यतथ्य स्पष्ट पार्न माग गरेका छन्।
यसअघि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एशियाली विकास बैंक र विश्व बैंकबाट झण्डै २८ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको थियो।
सरकारको उक्त निर्णयपछि ऋणको पारदर्शिता र उपयोगबारे राजनीतिक तथा सार्वजनिक चासो बढ्दै गएको छ।

