काठमाडाै,२३ चैत । राष्ट्रियसभा बैठकमा सरकारको दुई दिन सार्वजनिक बिदा दिने निर्णयप्रति सांसदहरूले कडा असन्तुष्टि जनाएका छन्।
विशेष गरी सांसद विष्णुबहादुर विश्वकर्माले मध्यपूर्वमा भइरहेको युद्धलाई कारण देखाउँदै यस्तो निर्णय लिनु उचित नभएको बताए। उनका अनुसार यसले सरकारी कामकाजमा अवरोध मात्र होइन, कर्मचारी र विद्यार्थीलाई अनावश्यक रूपमा निष्क्रिय बनाउने जोखिम समेत बढाउँछ।
उनले करिब तीन दिनसम्म कामकाज प्रभावित हुँदा देशमा बेथिति निम्तिने खतरा रहेको उल्लेख गर्दै सरकारलाई तत्काल निर्णय फिर्ता लिन आग्रह गरे। साथै, यस्तो कदमले विद्यार्थीको पठनपाठनमा पनि नकारात्मक असर पर्ने उनको भनाइ थियो।
त्यस्तै, सांसद सावित्री मल्लले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा गरिएको मूल्यवृद्धिप्रति आपत्ति जनाइन्। उनले बजारमा बढ्दो महँगी र दैनिक उपभोग्य वस्तुको अभावप्रति सरकार गम्भीर हुनुपर्ने बताउँदै मूल्य नियन्त्रण र सहज आपूर्तिका लागि तुरुन्त कदम चाल्नुपर्ने माग गरिन्।
समग्रमा, सांसदहरूले सरकारका पछिल्ला निर्णयहरूले जनजीवनमा थप कठिनाइ ल्याएको भन्दै तत्काल सुधारात्मक कदम चाल्न दबाब दिएका छन्।

