काठमाडौं,२३ चैत । अघिल्लो कारोबार दिन ठूलो गिरावट आएको सेयर बजार सोमबार उल्लेखनीय रूपमा उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८३.३३ अंकले बढेर २७६० बिन्दुमा पुगेको हो।
कारोबारका क्रममा नेप्से दिउँसो करिब २:३३ बजे ९८ अंकसम्म उक्लिँदै २७७५ बिन्दुसम्म पुगेको थियो, जुन दिनकै उच्च विन्दु बन्यो।
अघिल्लो दिनको तीव्र गिरावटपछि स्वर्णिम वाग्ले ले बजारमा अनावश्यक त्रास नफैलाउन आग्रह गर्दै लगानीकर्तालाई आश्वस्त पारेका थिए। उनले आगामी बजेट रुपान्तरणकारी हुने र बजार पारदर्शिताका लागि सरकार प्रतिबद्ध रहेको बताएका थिए।
यसैगरी, बजार सुधार र नेप्सेको पुनर्संरचनामा काम भइरहेको जानकारी पनि दिएका थिए, जसले लगानीकर्ताको मनोबल बढाउन सहयोग गरेको मानिएको छ।
आज कुल कारोबार रकम १० अर्ब ९२ करोड रुपैयाँमा सीमित रह्यो, जुन अघिल्लो दिनको १२ अर्ब ३८ करोडभन्दा कम हो।
बजारमा २६४ कम्पनीको शेयर मूल्य बढ्दा केवल ४ कम्पनी घटेका छन् भने १ कम्पनी स्थिर रह्यो।
सबै समूहका सूचक हरियाली देखिए पनि हाइड्रोपावर क्षेत्र सबैभन्दा अगाडि रह्यो—४.५९ प्रतिशतले वृद्धि भयो।
त्यसपछि फाइनान्स (४.०३%), विकास बैंक (३.६३%), बैंकिङ (३.१८%), होटल तथा पर्यटन (३.२४%) लगायतका समूहले पनि उल्लेख्य प्रगति गरे।
आज ८ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। उपकार लघुवित्त, रिडी पावर, नेसनल हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट इनमा उच्च वृद्धि देखिएको छ।
यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, शिवश्री हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावरमा पनि उल्लेख्य वृद्धि भएको छ।
अघिल्लो दिन उच्च वृद्धि गरेको रिलायन्स स्पिनिङ मिल्समा भने आज बिक्री चाप बढ्दा मूल्य १.६० प्रतिशतले घट्यो।
आज रिलायन्स स्पिनिङ मिल्स, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, अपी पावर र रिडी पावरमा सर्वाधिक कारोबार भएको छ।
समग्रमा, बजारमा आएको यो सुधारलाई लगानीकर्ताको विश्वास फर्किन थालेको संकेतका रूपमा विश्लेषण गरिएको छ।

