एसइईमा ‘चिटिङ’ गराएको आरोपमा एक पक्राउ

spot_img

रौतहट,२३ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई)को मर्यादा उल्लङ्घन गर्ने कार्यमा संलग्न रहेको आरोपमा रौतहटबाट एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–६, मोतियाहीका २१ वर्षीय रंजित कुमार साह रहेका छन्। उनलाई चन्द्रपुर–९ स्थित जन जागृति माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षार्थीलाई अनियमित सहयोग गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार साहले परीक्षार्थीलाई ह्वाट्सएप समूहमा आबद्ध गराई प्रश्नपत्रको उत्तर पठाउने ‘चिटिङ’ कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर बाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहट का अनुसार पक्राउ परेका साहविरुद्ध शिक्षा ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत रौतहट ले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ।

यसअघि पनि शुक्रबार यस्तै प्रकृतिको घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको थियो। उनीहरूले परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिर निकालेर अनलाइनमार्फत उत्तर पठाएको आरोप रहेको छ।

प्रहरीले एसइई परीक्षाको निष्पक्षता कायम राख्न निगरानी कडा बनाइएको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय