काठमाडौं,२४ चैत । नेपाली कांग्रेसले संसदीय दलको नेता सहमतिमै चयन गर्ने प्रयास तीव्र पारेको छ। पार्टी नेतृत्वभित्र जारी छलफलमा समानुपातिक सांसदहरू अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मध्ये एकलाई दलको नेता बनाउने विकल्पमाथि चर्चा भइरहेको छ।
पार्टीका शीर्ष नेताहरूबीच सभापति, उपसभापति र महामन्त्रीहरू सहभागी बैठकमार्फत सहमति खोज्ने प्रयास भइरहेको एक सहमहामन्त्रीले जानकारी दिएका छन्। तर, हालसम्म कुनै ठोस निर्णय भइसकेको छैन।
यसअघि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउनका लागि सहमहामन्त्री प्रकाश स्नेही ‘रसाइली’ को संयोजकत्वमा निर्वाचन समिति गठन भएको चर्चा भए पनि कांग्रेसले त्यसलाई औपचारिक रूपमा पुष्टि गरेको छैन।
कांग्रेसको संसदीय इतिहासमा २०६४ पछि सर्वसम्मत रूपमा दलको नेता चयन हुन नसकेको र यस पटक पनि आन्तरिक प्रतिस्पर्धा तथा गुटगत समीकरणका कारण निर्वाचनमार्फत निर्णय हुने सम्भावना बलियो देखिएको नेताहरू बताउँछन्।
प्रत्यक्ष र समानुपातिक गरी निर्वाचित ३८ सांसद रहेको कांग्रेसमा संस्थापन र इतर समूहबीच शक्ति सन्तुलन जटिल बनेको छ। त्यसैले सहमतिमा नेतृत्व टुंग्याउने प्रयाससँगै प्रतिस्पर्धाको तयारी पनि समानान्तर रूपमा अघि बढिरहेको छ।
दलको नेतृत्वका लागि केसी र आङ्देम्बेसहित केही प्रत्यक्ष निर्वाचित सांसदहरूको नाम पनि चर्चामा रहेको छ। कांग्रेसभित्रको आन्तरिक ध्रुवीकरणले अन्ततः मतदानमार्फत निर्णय हुने सम्भावना अझै उच्च रहेको विश्लेषण छ।

