मापदण्डविपरीतका सबै क्रसर उद्योग बन्द गर्न गृहमन्त्रीको निर्देशन

spot_img

काठमाडौं,२५ चैत ।  गृहमन्त्री सुधन गुरुङले देशभर मापदण्डविपरीत तथा अवैध रूपमा सञ्चालन भइरहेका सबै क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएका छन्।

काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा बाढीपहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा उनले गिट्टी–बालुवाको अनियन्त्रित उत्खननकै कारण प्राकृतिक विपत्ति बढेको भन्दै कडा असन्तुष्टि व्यक्त गरे।

मन्त्री गुरुङले विगतमा राजनीतिक संरक्षणमा ‘सेटिङ’ मिलाएर अवैध रूपमा क्रसर उद्योग सञ्चालन हुन दिएको आरोप लगाउँदै अब यस्ता गतिविधिमा कडाइ गरिने स्पष्ट पारे। “अब सबै उद्योग वैध वा अवैध छुट्याएर छानबिनको दायरामा ल्याइन्छ,” उनले भने।

रोशी खोला आसपासका क्षेत्रमा दर्जनौं क्रसर तथा खानी उद्योग सञ्चालनमा रहेकाले प्राकृतिक जोखिम उच्च रहेको जनाइएको छ। गत वर्ष आएको भीषण बाढीपहिरोमा ठूलो जनधनको क्षति भएपछि सरकारले यस्तो कदम चालेको हो।

गृहमन्त्रीले प्राकृतिक स्रोतको दोहन नियन्त्रण नगरे थप विपत्ति निम्तिन सक्ने चेतावनी दिँदै कानुनी मापदण्ड कडाइका साथ लागू गरिने बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय