काठमाडाै,२६ चैत । ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा सामान्य फोन विवादले भयावह रूप लिँदा दुई दाजुभाइको ज्यान गएको छ।
प्रहरीका अनुसार झापा घर भई ललितपुर बस्दै आएका ३३ वर्षीय सुमित नेम्वाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्वाङमाथि चक्कु प्रहार भएको हो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले संजीव नेपालीलाई पक्राउ गरेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानले देखाएअनुसार सिर्जन नेम्वाङले गल्तीले अर्कै व्यक्तिको नम्बरमा फोन गर्दा संजीव नेपालीसँग सम्पर्क भएको थियो। फोनमै भएको भनाभनपछि उनीहरू भेटेरै कुरा गर्ने सहमतिमा पाटन दरबार क्षेत्र पुगेका थिए। तर सामान्य विवाद चर्किँदै जाँदा झडपमा परिणत भयो र आक्रमणकारीले चक्कु प्रहार गरेका थिए।
गम्भीर घाइते भएका दुवैलाई तत्काल बिएन्डबी अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
ललितपुरका प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार घटनामा संलग्न व्यक्तिलाई भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको छ र थप अनुसन्धान भइरहेको छ।
यस घटनाले सामान्य विवादले पनि कति गम्भीर र दुखद परिणाम निम्त्याउन सक्छ भन्ने पुनः उजागर गरेको छ।

