spot_img

विद्यार्थी संगठन खारेज गर्ने तयारीविरुद्ध देशव्यापी आन्दोलन घोषणा

spot_img
spot_img

काठमाडौँ,२७ चैत । सरकारले विद्यार्थी संगठन खारेज गर्ने तयारी गरेको भन्दै विभिन्न विद्यार्थी सङ्गठनहरूले देशव्यापी आन्दोलनको घोषणा गरेका छन्।

शुक्रबार संयुक्त रूपमा आयोजित पत्रकार सम्मेलनमार्फत विद्यार्थी नेताहरूले चैत २७ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने जानकारी दिएका हुन्। सरकारको सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठन खारेज गर्ने प्रस्ताव समावेश भएपछि उनीहरू आन्दोलित बनेका हुन्।

आन्दोलन कार्यक्रमअनुसार चैत २७ मा पत्रकार सम्मेलन, चैत २९ मा नागरिक अगुवासँग अन्तरक्रिया, र चैत ३० देखि वैशाख ४ सम्म देशभरका कलेजहरूमा छलफल तथा अन्तरक्रिया गरिनेछ।

त्यसैगरी, वैशाख ५ मा पूर्व विद्यार्थी नेता तथा सांसदहरूसँग संवाद, वैशाख ७ देखि ९ सम्म कलेजहरूमा प्रचार अभियान सञ्चालन गरिनेछ। यस अवधिमा ब्यानर, पर्चा वितरणसँगै वक्तृत्वकला, वादविवाद, नृत्य, सडक नाटक, फ्ल्यास मोबजस्ता कार्यक्रम पनि आयोजना गरिनेछन्।

अनेरास्ववियुका अध्यक्ष दीपक धामी का अनुसार वैशाख ११ मा विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापन पत्र बुझाइनेछ भने वैशाख १२ मा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिइनेछ। साथै, वैशाख १५ मा काठमाडौँ उपत्यकासहित देशभर कापी–कलमसहित प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।

विद्यार्थी सङ्गठनहरूले आन्दोलनसँगै सात बुँदे माग पनि अघि सारेका छन्। जसमा विश्वविद्यालयका लागि छुट्टै सर्भर तथा डाटा केन्द्र स्थापना, साइबर सुरक्षा नीति निर्माण, प्रविधि एकीकरणको प्रभावकारी नियमन, र त्रिभुवन विश्वविद्यालय द्वारा गठित उच्चस्तरीय आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने माग समावेश छन्।

त्यसैगरी, कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्बन्धी सरकारको स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने, साथै पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट प्रभावित जनतालाई राहत दिनुपर्ने मागसमेत विद्यार्थीहरूले उठाएका छन्।

 

spot_img

ताजा अपडेट

लोकप्रिय