मकवानपुर,२८ चैत । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने विषयमा फेरि बहस सुरु भएको छ। २०५७ सालदेखि उत्पादन बन्द रहेको यो उद्योग २०६० सालमा मन्त्रिपरिषद्ले खारेज गर्ने निर्णय गरेको थियो भने २०६६ सालमा पुनः खारेज गरिएको थियो।
पछिल्लो समय बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि पुराना सरकारी उद्योगहरू पुनर्जीवित गर्ने चर्चा चुलिएको छ। विशेषगरी गृहमन्त्री सुधन गुरुङ ले नेपाल प्रहरीका पोसाक स्वदेशमै उत्पादन गर्ने घोषणा गरेसँगै हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने विकल्पबारे पुनः चासो बढेको हो।
गृहमन्त्री गुरुङले नेपाल प्रहरीको पोसाकको गुणस्तर सुधारका लागि देशमै कपडा उत्पादन गर्ने उद्योग आवश्यक रहेको बताएका छन्। यस सन्दर्भमा नयाँ उद्योग खोल्ने वा पहिले नै पूर्वाधार भएको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने भन्ने विषयमा बहस भइरहेको छ।
यस विषयले संघीय संसद् र बागमती प्रदेशसभासम्म प्रवेश पाएको छ। प्रतिनिधिसभामा सांसद प्रशान्त उप्रेतीले हेटौँडामा रहेको उद्योग सञ्चालन गर्न सरकारलाई आग्रह गर्दै प्रहरी पोसाक उत्पादनको सुरुवात यहीँबाट गर्न सकिने धारणा राखेका छन्। यस्तै, प्रदेश सांसद रामकृष्ण चित्रकारले पनि बन्द उद्योग पुनः सञ्चालन गरेर रोजगारी सिर्जना र स्वदेशी उत्पादन प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।
उद्योग पुनः सञ्चालन भएमा रोजगारी वृद्धि, स्वदेशी उत्पादनमा आत्मनिर्भरता र युवाहरूको विदेश पलायन रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यद्यपि, विगतमा विभिन्न प्रयास असफल भएका कारण यसपटक सरकारको ठोस पहल र प्रभावकारी व्यवस्थापन आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।




