काठमाडौं,०१ वैशाख । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले नयाँ वर्ष २०८३ को अवसरमा विगतका अनुभवबाट सिक्दै भविष्य निर्माणमा केन्द्रित हुन आह्वान गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले बितेको वर्षलाई समीक्षा गर्दै नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए। सफलता–विफलता, अवसर–चुनौती र कमजोरी–उपलब्धिलाई वस्तुनिष्ठ रूपमा मूल्यांकन गर्दै आगामी लक्ष्य निर्धारण गर्नुपर्ने उनले बताएका छन्।
ओलीले देशको समग्र विकासका लागि पुस्तान्तरण र सहकार्यको महत्व उल्लेख गर्दै ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’ बीचको समन्वय अपरिहार्य रहेको धारणा राखे। यस्तो समन्वयले मात्रै मुलुकलाई सकारात्मक परिवर्तनतर्फ अघि बढाउन सक्ने उनको विश्वास छ।
नयाँ वर्षले देशमा राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सहकार्यको वातावरण निर्माण गर्ने अपेक्षा व्यक्त गर्दै उनले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा सुख, शान्ति र प्रगतिको कामना गरेका छन्।

