जनकपुर,०१ वैशाख । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा प्रशासनिक कार्यालय स्थानान्तरण गर्ने निर्णयविरुद्ध स्थानीय बासिन्दा आन्दोलित भएका छन्। विरोधस्वरूप उनीहरूले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन्।
नगर सभाको बहुमतबाट वडा नम्बर १२ मा रहेको कार्यालयलाई वडा नम्बर ५ स्थित नवनिर्मित पशु अस्पताल भवनमा सार्ने निर्णय भएपछि सोमबार बिहानदेखि स्थानीयले विरोध सुरु गरेका हुन्। आन्दोलनकारीहरूले नगरपालिका गेटमा धर्ना दिनुका साथै हनुमाननगर बजारसमेत बन्द गराएका छन्।
विरोध कार्यक्रममा केही वडाध्यक्षहरू समेत सहभागी भएका छन्। उनीहरूले नगरप्रमुखले कार्यकालको अन्त्यतिर एकतर्फी निर्णय गरेको आरोप लगाएका छन्। साथै, पशु अस्पतालको भवन प्रशासनिक प्रयोजनमा प्रयोग गर्दा किसानलाई आवश्यक सेवा प्रभावित हुने भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
यता नगरप्रमुख वीरेन्द्र माझीले भने कार्यालय सार्ने निर्णय अस्थायी व्यवस्थापनका लागि गरिएको स्पष्ट पारेका छन्। उनका अनुसार केही वडा कार्यालय र स्वास्थ्य चौकी भाडामा सञ्चालन भइरहेका कारण सेवा व्यवस्थापन सहज बनाउन यस्तो निर्णय गरिएको हो।
हाल तालाबन्दीका कारण नगरपालिकाको दैनिक सेवा प्रभावित बनेको छ भने समस्या समाधानका लागि वार्ताको प्रयास भइरहेको जनाइएको छ।




