काठमाडाै,२७ वैशाख । पोखरामा जग्गा धितो राखेर किर्ते कागजातमार्फत ५० लाख रुपैयाँ ऋण निकालेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार वन्ती शाही र भद्र थापा ले पोखरा महानगरपालिका–३० ढुङ्गेपाटन निवासी मोहन बहादुर शाही को नाममा रहेको जग्गा धितो राखी किर्ते हस्ताक्षरमार्फत ऋण निकालेका हुन्।
उनीहरूले मोहनबहादुर शाहीको सहीछाप नक्कली बनाइ सिद्धार्थ बैंक लिमिटेड को तालचोक शाखाबाट ५० लाख रुपैयाँ ऋण लिएको भन्दै जाहेरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
इलाका प्रहरी कार्यालय शिशुवा बाट खटिएको टोलीले वैशाख २५ गते दुवैलाई पक्राउ गरेको हो। प्रहरी नायव उपरीक्षक हरी बहादुर वस्नेत का अनुसार पक्राउ परेकामाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
कास्की जिल्ला अदालत ले दुवै जनालाई पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ।




