काठमाडौं,२७ वैशाख । शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा विरुद्ध रेड नोटिस जारी गर्ने प्रक्रिया अगाडि बढाइएको छ। इन्टरपोलले थप विवरण र कागजात माग गरेपछि नेपाल प्रहरीले आवश्यक कागजात पठाएको जनाएको छ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार नेसनल सेन्ट्रल ब्यूरो ले केही दिनअघि प्राप्त इमेलअनुसार थप कागजात इन्टरपोलमा पठाइसकेको छ। रेड नोटिस जारी गर्न आवश्यक प्रक्रिया अहिले अन्तर्राष्ट्रिय समन्वयको चरणमा रहेको बताइएको छ।
देउवा दम्पतीविरुद्ध गत चैत २४ गते पक्राउ पुर्जी जारी भएको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग को पत्रका आधारमा काठमाडौं जिल्ला अदालत ले पक्राउ अनुमति दिएको थियो।
प्रहरीले उनीहरूलाई नेपाल ल्याउने प्रक्रिया अन्तर्गत इन्टरपोलमार्फत औपचारिक पत्राचार गरेको भए पनि आवश्यक कागजात अपुग भएको भन्दै रेड नोटिस तत्काल जारी भएको थिएन। त्यसपछि थप प्रमाण र विवरण पठाइएको हो।
पक्राउ पुर्जी जारी हुँदासम्म देउवा दम्पती विदेशमै रहेका थिए। उनीहरू गत फागुन १४ गते उपचारका लागि सिंगापुर गएको र पछि हङकङ पुगेको स्रोतको दाबी छ। त्यसयता उनीहरू नेपाल फर्किएका छैनन्।
यदि रेड नोटिस जारी भएमा इन्टरपोल मा आबद्ध १९६ सदस्य राष्ट्रले उनीहरूलाई नियन्त्रणमा लिन सक्नेछन्। त्यसपछि कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउने बाटो खुल्नेछ।




