रौतहट,२७ वैशाख । रौतहट प्रहरीले जिल्लामा बढ्दो लागुऔषध दुर्व्यसन र कारोबार नियन्त्रण गर्न ‘लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान’ सुरु गरेको छ। पछिल्लो समय विशेषगरी युवा पुस्तामा लागुऔषध प्रयोग र ओसारपसार बढ्दै गएपछि प्रहरीले नियन्त्रणसँगै सुधारमुखी अभियान अघि बढाएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहट का प्रहरी उपरीक्षक सीताराम रिजाल का अनुसार नेपाल–भारत सीमावर्ती क्षेत्र तथा चन्द्रनिगाहपुर आसपासका क्षेत्रमा लागुऔषध सेवनकर्ता र कारोबार बढ्दो क्रममा देखिएपछि अभियान सञ्चालन गरिएको हो।
प्रहरी तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा लागुऔषध कारोबारसम्बन्धी मुद्दामा २६ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ भने ६३ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ। तर पक्राउ र कारबाही मात्रै पर्याप्त नभएकाले खोज, उपचार र पुनःस्थापनालाई पनि सँगै अघि बढाउने रणनीति बनाइएको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक रिजालले लागुऔषध दुर्व्यसनलाई केवल कानुनी विषय नभई सामाजिक, पारिवारिक र स्वास्थ्यसँग जोडिएको जटिल समस्या भएको बताए। बेरोजगारी, कमजोर पारिवारिक निगरानी, खुला सीमा र साथीहरूको प्रभावका कारण किशोर तथा युवा वर्ग दुर्व्यसनतर्फ आकर्षित भइरहेको उनको भनाइ छ।
अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर सेवनकर्ताको पहिचान, तथ्याङ्क सङ्कलन, परामर्श सेवा, सचेतनामूलक कार्यक्रम तथा आवश्यक परे उपचार र पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग सहकार्य गरिनेछ। प्रहरीका अनुसार अभिभावक, शिक्षक, जनप्रतिनिधि, स्वास्थ्य संस्था तथा सामाजिक सङ्घसंस्थालाई समेत अभियानमा जोडिनेछ।
यसैबीच स्वास्थ्य कार्यालय रौतहट का प्रमुख राजेश सिंह ले जिल्लामा लागुऔषध दुर्व्यसनसँगै एचआइभी/एड्स सङ्क्रमण पनि बढ्दो अवस्थामा रहेको जानकारी दिएका छन्। पछिल्लो तथ्याङ्कअनुसार रौतहटमा ५४० जना एचआइभी संक्रमित रहेको र ४२५ जनाले नियमित औषधि सेवन गरिरहेको जनाइएको छ।




