बीरगन्ज,०१ वैशाख । नयाँ वर्ष २०८३ को अवसर पारेर उपकार सेवा नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धाश्रममा खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरेको छ।
पर्साको ठोरी गाउँपालिका–१ भगवाननगरस्थित एक वृद्ध–वृद्धा आश्रममा आश्रितहरूका लागि संस्थाले विभिन्न दैनिक उपभोग्य सामग्री उपलब्ध गराएको हो।
संस्थाका अनुसार आश्रममा रहेका १७ जना अपाङ्ग, मानसिक रूपमा अस्वस्थ, वृद्धवृद्धा तथा बालबालिकाहरूका लागि चामल, दाल, सोयाबिन, खानेतेल, चिउरा लगायतका खाद्यान्न सामग्रीसहित लुगाधुने साबुन, बिस्कुट र मसला प्रदान गरिएको छ।
एक कार्यक्रमका बीच आश्रमका सदस्य शेरबहादुर थिङलाई उक्त सामग्री हस्तान्तरण गरिएको थियो। कार्यक्रममा संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारुको उपस्थिति रहेको थियो।
उपकार सेवा नेपालले विगतदेखि नै नियमित रूपमा यस्ता सामाजिक कार्य गर्दै आएको छ। संस्थाले हरेक महिना आश्रमलाई आवश्यक सामग्री उपलब्ध गराउँदै आएको जनाएको छ।

