काठमाडौं,०२ वैशाख । नीति निर्माण र कार्यान्वयन प्रक्रियालाई थप जनमुखी बनाउने उद्देश्यसहित प्रधानमन्त्री बालेन्द्र शाह ले आज संघीय संसद्का समानुपातिकतर्फका सांसदहरूसँग विशेष अन्तरक्रिया गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्यान्ह १२ बजेका लागि तय गरिएको उक्त कार्यक्रमलाई कार्यपालिका र जनप्रतिनिधिबीचको दूरी घटाउने प्रयासका रूपमा हेरिएको छ।
अन्तरक्रियामा सहभागी सांसदहरूले आफ्नो-आफ्नो क्लस्टर—जातीय, क्षेत्रीय तथा लैङ्गिक समूहसँग सम्बन्धित समस्या, चुनौती र समाधानका उपायहरू प्रधानमन्त्रीसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गर्नेछन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, यो कार्यक्रम औपचारिकतामा मात्र सीमित नभई विभिन्न समुदायका प्रतिनिधित्व गर्ने आवाजलाई नीति निर्माण तहसम्म पुर्याउने महत्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको छ।
सरकारले यस संवादमार्फत सुशासन, उत्तरदायित्व र जनमुखी शासन प्रणालीलाई थप सुदृढ बनाउने लक्ष्य राखेको छ। साथै, प्रत्यक्ष संवादको यस्तो अभ्यासले नीति कार्यान्वयनलाई पनि प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

