काठमाडौं,०२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक बिहीबार दिउँसो १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने जनाइएको छ।
रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य का अनुसार, बैठक संसदीय समितिका सभापतिहरूको मनोनयन दर्ताअघि बस्न लागेको हो।
यसअघि, गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरूको टुंगो लगाएको थियो। सोही क्रममा सभामुख डोलप्रसाद अर्याल ले समितिका सभापतिहरूको निर्वाचनका लागि शुक्रबारको मिति तय गरेका थिए।
संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन्, जसमध्ये प्रतिनिधिसभाअन्तर्गत १०, राष्ट्रिय सभाअन्तर्गत ४ र २ वटा संयुक्त समिति छन्। राष्ट्रिय सभाका समितिहरूको सभापति चयन प्रक्रिया सम्पन्न भइसकेको छ भने प्रतिनिधिसभा र संयुक्त समितिहरूको नेतृत्व चयन हुन बाँकी छ।
आगामी निर्वाचनलाई ध्यानमा राख्दै रास्वपाले आफ्नो रणनीति तय गर्न बैठक बोलाएको बताइएको छ।

