जनकपुर,०२ वैशाख । भारतसँग जोडिएका सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। सीमामा हुने अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले ठूलो संख्यामा थप जनशक्ति परिचालन गरेको हो।
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टका अनुसार हाल २७ जिल्लाबाट करिब २ हजार २०० सुरक्षाकर्मी भारतसँग जोडिएका सीमामा खटाइएको छ। केही दिनमै यो संख्या करिब ३ हजार पुग्ने उनले जानकारी दिए।
झापादेखि कञ्चनपुरसम्मका तराईका २७ जिल्लामा २४ सै घण्टा गस्ती हुने गरी सुरक्षाकर्मी परिचालन गरिएको छ। सम्बन्धित प्रदेशका बाहिनी तथा युनिटहरूबाट गण, गुल्म र अन्य संरचनामार्फत जनशक्ति सीमामा तैनाथ गरिएको छ।
सरकारले आवश्यक परे पहाडी जिल्लाबाट समेत थप जनशक्ति झिकेर सीमामा स्थायी रूपमा खटाउने तयारी गरेको छ। सशस्त्र प्रहरीले दीर्घकालीन रूपमा १० देखि १२ हजार थप जनशक्ति आवश्यक पर्ने प्रस्ताव पनि अघि सारेको छ।
यसैबीच, भीड नियन्त्रण (crowd control) सम्बन्धी कार्यविधिमा पनि परिवर्तनको तयारी भइरहेको छ। प्रस्तावित व्यवस्था अनुसार सुरुवाती चरणमा नेपाल प्रहरीले मात्रै सम्झाउने, लाठीचार्ज, अश्रुग्यास, पानीको फोहरा जस्ता उपाय अपनाउनेछ। अवस्था नियन्त्रण बाहिर गएपछि मात्र सशस्त्र प्रहरी परिचालन गरिनेछ।
सुरक्षा निकायका अधिकारीहरूका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै एकैसाथ सुरुदेखि परिचालन हुँदा समन्वयमा समस्या देखिएकाले भूमिका स्पष्ट पार्ने गरी नयाँ निर्देशिका बनाइएको हो, जुन हाल गृह मन्त्रालयमा छलफलमा छ।
यससँगै सीमा सुरक्षा मजबुत बनाउन बीओपी (बोर्डर आउट पोस्ट) संख्या बढाएर ४२५ पुर्याउने प्रस्ताव पनि अघि बढाइएको छ। हाल देशभर २६० बीओपी मात्र सञ्चालनमा छन्।
सरकारले सशस्त्र प्रहरीलाई सीमासँगै औद्योगिक क्षेत्र र रेलमार्ग सुरक्षा जस्ता क्षेत्रमा पनि विस्तार गर्ने योजना अघि सारेको छ। दंगा नियन्त्रणका लागि कीर्तिपुरस्थित नीलबाराही गणलाई विशेष दंगा नियन्त्रण इकाइका रूपमा रूपान्तरण गरिएको छ।
यसै विषयमा जाँचबुझ आयोगले पनि भीड नियन्त्रणमा सुरक्षा निकायबीच स्पष्ट कार्यविभाजन आवश्यक रहेको निष्कर्ष निकालिसकेको छ।

