spot_img

अवकाश प्राप्त सैनिक समाजका ऊर्जा र आदर्श: प्रधानसेनापति सिग्देल

spot_img
spot_img

काठमाडौं,०३ वैशाख । अशोकराज सिग्देल ले अवकाश प्राप्त सैनिकहरूलाई समाजका ऊर्जा र आदर्शका रूपमा वर्णन गरेका छन्।

महोत्तरीको बर्दिवासस्थित मध्य पृतना हेडक्वार्टरमा आयोजित ‘भूतपूर्व सैनिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम’लाई सम्बोधन गर्दै उनले राष्ट्रको सार्वभौमिकता रक्षा र सेनाको संस्थागत हितमा अवकाश प्राप्त सैनिकहरूको योगदान अविस्मरणीय रहेको बताए।

नेपाली सेना का पूर्वसैनिकहरूलाई उनले अनुशासित र जिम्मेवार नागरिकका रूपमा समाजमा प्रस्तुत हुँदै स्थानीय स्तरमै उत्पादनशील र उद्यमी बन्न आग्रह गरे। साथै, कल्याणकारी कोषका सुविधा पारदर्शी र परिणाममुखी बनाउँदै शिक्षा, स्वास्थ्य, सीप विकास तथा स्वरोजगारमा पहुँच विस्तार भइरहेको जानकारी दिए।

प्रधानसेनापति सिग्देलले आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा सेनाको भूमिकाले संस्थालाई विश्वसनीय र सम्मानित बनाएको उल्लेख गरे। हालै सम्पन्न आम निर्वाचन सुरक्षित रूपमा सम्पन्न गराउन सेनाले देखाएको कार्यकुशलताको समेत उनले प्रशंसा गरे।

उनले कल्याणकारी कार्यक्रमहरू प्रभावकारी बनाउन अवकाश प्राप्त सैनिकहरूको सुझाव र सहकार्य आवश्यक रहेको बताए। कार्यक्रममा सहभागी पूर्वसैनिकहरूको उत्साह र अनुशासनले अझै पनि उनीहरूमा राष्ट्रप्रतिको प्रतिबद्धता जीवित रहेको झल्काएको उनको भनाइ थियो।

कार्यक्रममा विभिन्न जिल्लाबाट आएका अवकाश प्राप्त सैनिक तथा उनका परिवारजनको उल्लेख्य सहभागिता रहेको थियो। सम्मेलन ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण, पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने नारासहित आयोजना गरिएको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय