बीरगन्ज,०३ वैशाख । भारत–नेपाल सीमाक्षेत्रमा लागूऔषध तस्करी र अवैध पशु ओसारपसारविरुद्ध सुरक्षा निकायको कारबाही तीव्र पारिएको छ। बारा सीमामा गरिएको पछिल्लो दुई छुट्टाछुट्टै अपरेसनमा अफिमसहित दुई जना पक्राउ परेका छन् भने १५ वटा गाईगोरु नियन्त्रणमा लिइएको छ।
सशस्त्र सीमा बल (SSB) को ७१औँ बटालियन र बिहार प्रहरी को संयुक्त टोलीले गोप्य सूचनाका आधारमा करिब ४ किलो अफिमसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पर्साका ५७ वर्षीय चन्देश्वर महतो कोइरी र भारत पश्चिम चम्पारणका ६६ वर्षीय झग्गु महतो रहेका छन्।
एसएसबीका सहायक कमाण्डेन्ट विश्वजित तिवारी का अनुसार शरीर तलासीका क्रममा चार प्याकेटमा लुकाइएको अफिम र तीन थान मोबाइल फोन बरामद गरिएको हो। प्रारम्भिक अनुसन्धानमा उक्त लागूऔषध मोतीहारीबाट दिल्लीसम्म पुर्याउने योजना रहेको खुलेको छ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि बिहार प्रहरीको पिपरा कोठी चौकीमा बुझाइएको जनाइएको छ।
यसैबीच, अर्को अपरेसनमा एसएसबी टोलीले इनरवा (लरहटोला) क्षेत्रबाट १५ वटा गाईगोरु नियन्त्रणमा लिएको छ। बिनित कुमार सिंह का अनुसार भारततर्फ तस्करी गर्न लागिएका ५ गाई र १० बाछा बरामद गरिएको हो।
बरामद पशुहरूलाई आवश्यक प्रक्रिया पूरा गरी आदापुर प्रहरी कार्यालयमा बुझाइने तयारी गरिएको छ।
पछिल्ला दिनहरूमा सीमाक्षेत्रमा लागूऔषध र पशु तस्करी नियन्त्रणका लागि निगरानी तथा कारबाही थप कडा बनाइएको सुरक्षा निकायले जनाएको छ।




