काठमाडौँ,०३ बैशाख । नेपाल सरकारले अस्पताल सेवामा पारदर्शिता र पहुँच बढाउने उद्देश्यसहित देशभरका अस्पतालमा छुट्याइने १० प्रतिशत निःशुल्क बेडको विवरण अब अनलाइनमै उपलब्ध गराउने व्यवस्था सुरु गरेको छ।
‘फ्रि हेल्थ पोर्टल’ मार्फत सञ्चालनमा आएको यस प्रणालीले विभिन्न अस्पतालमा उपलब्ध निःशुल्क बेडको अवस्था र सेवा लिइरहेका बिरामीको विवरण ‘रियल–टाइम’ मा देखाउनेछ। यससँगै सर्वसाधारणले घरमै बसेर कुन अस्पतालमा बेड खाली छ भन्ने जानकारी सहजै लिन सक्ने भएका छन्।
यसअघि कागजी प्रक्रियामा सीमित रहेको निःशुल्क बेडको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको गुनासो आउने गरेको थियो। अब डिजिटल प्रणालीमार्फत यसलाई निगरानीयोग्य बनाइएकाले पहुँचका आधारमा सेवा वितरण हुने प्रवृत्ति नियन्त्रण हुने विश्वास गरिएको छ।
नेपालको संविधानले सुनिश्चित गरेको आधारभूत स्वास्थ्य सेवाको हक कार्यान्वयन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले यो प्रणाली लागू गरेको हो। स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ अनुसार सबै अस्पतालले आफ्नो कुल बेडको १० प्रतिशत विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था छ।
नयाँ पोर्टलमा बिरामीको भर्ना मिति, बेड नम्बर, विभाग तथा रोगसँग सम्बन्धित विवरणसमेत समावेश गरिने भएकाले सेवा वितरण थप पारदर्शी हुने अपेक्षा गरिएको छ।
यससँगै सरकारले ‘अस्पताल सेवा सुधार कार्यविधि’ पनि लागू गर्दै स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मीको उपस्थिति र सेवाको गुणस्तरमाथि कडा निगरानी गर्ने जनाएको छ।
मन्त्रालयले आगामी दिनमा यस प्रणालीलाई एकीकृत ‘डिजिटल पेसेन्ट रेकर्ड सिस्टम’सँग जोड्ने योजना बनाएको छ। यसले बिरामीको उपचार इतिहास सुरक्षित राख्न सहयोग पुर्याउनुका साथै अनावश्यक रिफर गर्ने प्रवृत्ति घटाउने अपेक्षा गरिएको छ।
सरकारको यो पहलले विशेषगरी विपन्न वर्गका नागरिकलाई स्वास्थ्य सेवा थप सहज, पहुँचयोग्य र उत्तरदायी बनाउने विश्वास लिइएको छ।




