सोपान फर्मास्युटिकल्सको आईपीओ खुला

spot_img

काठमाडौँ,०३ वैशाख ।  सोपान फर्मास्युटिकल्स लिमिटेड ले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गरेको छ। यसअघि वैशाख २ गतेबाट सुरु गर्ने तालिका भए पनि सार्वजनिक बिदाका कारण प्रक्रिया एक दिनपछि धकेलिएको थियो।

कम्पनीले जारी पूँजीको २५ प्रतिशत बराबर ४२ लाख ९० हजार कित्ता सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको हो। यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको ४ लाख २९ हजार कित्ता सेयर पहिले नै बाँडफाँट भइसकेको छ। अब बाँकी ३४ लाख ७४ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ११ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था छ। छिटोमा वैशाख ८ गतेसम्म र मागभन्दा बढी आवेदन परेमा ढिलोमा वैशाख १७ गतेसम्म आवेदन खुला रहनेछ।

ललितपुरस्थित महालक्ष्मीस्थानमा मुख्य कार्यालय रहेको कम्पनीले २०७८ सालदेखि औषधि उत्पादन सुरु गरेको हो। हालसम्म कम्पनीले १३९ प्रकारका औषधि उत्पादनको अनुमति प्राप्त गरिसकेको छ। आईपीओबाट उठेको रकम बैंक ऋण भुक्तानी, परियोजना विस्तार तथा चालु पूँजी व्यवस्थापनमा प्रयोग गर्ने योजना रहेको छ।

यस निष्कासनको बिक्री प्रबन्धकका रूपमा एनएमबि क्यापिटल रहेको छ। लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको वित्तीय अवस्था मध्यम देखिएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ३३ करोड ८० लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा आर्जन गरेको छ। प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ १५ पैसा र प्रतिसेयर आम्दानी १८ रुपैयाँ ३३ पैसा रहेको छ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपाल ले कम्पनीलाई ‘केयर एनपी बी’ रेटिङ प्रदान गरेको छ, जसले लगानीमा तुलनात्मक रूपमा उच्च जोखिम रहेको संकेत गर्छ। त्यसैले लगानीकर्तालाई विस्तृत अध्ययनपछि मात्रै निर्णय लिन सुझाइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय