बीरगन्ज,०३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिका सभापतिहरूका लागि उम्मेदवारहरूको नाम टुंगो लगाएको छ। बिहीबार बसेको पार्टी संसदीय दलको बैठकले उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिको सभापतिमा रहबर अन्सारी लाई उम्मेदवार बनाउने निर्णय गरेको हो। अन्सारी बारा निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित सांसद हुन्।
त्यसैगरी, कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बाँस्कोटा, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल लाई उम्मेदवार बनाउने निर्णय गरिएको छ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोककुमार चौधरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजस्वी शेरचन, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास र अर्थ समितिमा कृष्णहरी बुढाथोकी लाई उम्मेदवार बनाइएको छ।
यस्तै, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, संसदीय सुनुवाइ (संयुक्त) समितिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त कार्यान्वयन अनुगमन तथा मूल्यांकन (संयुक्त) समितिमा गणेश कार्की लाई उम्मेदवार बनाउने निर्णय गरिएको पार्टीले जनाएको छ।

