बीरगन्ज,०३ वैशाख । बीरगन्ज उद्योग वाणिज्य सङ्घ ले स्थानीय तहबाट उठाइँदै आएको सवारी करलाई गैरकानूनी भन्दै तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ। संघले विशेषगरी भन्सार कार्यालयको मूलगेट, राजमार्ग तथा सहायक मार्गहरूमा भइरहेको असुलीप्रति आपत्ति जनाएको हो।
सङ्घका अध्यक्ष हरि प्रसाद गौतम द्वारा जारी विज्ञप्तिमा वर्षौंदेखि भारतीय नम्बर प्लेटका गाडी लगायत सवारी साधनबाट अवैध रूपमा कर असुल्ने गरिएको उल्लेख गरिएको छ। नयाँ सरकार गठनपछि उक्त कर हटाउने प्रयास भएकोमा स्वागत गरिए पनि व्यवहारमा भने अझै रोक नलागेको गुनासो गरिएको छ।
संघले संघीय सरकारको निर्देशन हुँदाहुँदै पनि स्थानीय तहले आलटाल गरिरहेको र सम्बन्धित निकायबीच समन्वयको अभाव देखिएको जनाएको छ। यसप्रति गम्भीर ध्यान दिँदै तत्काल प्रभावकारी कदम चाल्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
यसैबीच, भोला दाहाल नेतृत्वको अनुगमन टोलीले केही दिनअघि विभिन्न १३ स्थानबाट अवैध रूपमा प्रयोग भइरहेका कर असुलीका रसिद ठेलीहरू नियन्त्रणमा लिएको थियो। टोलीमा सुदीप राज पाठक लगायत सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको थियो।
अनुगमनका क्रममा बीरगन्ज ड्राइपोर्ट, बहुअरी, जगरनाथपुर, परवानीपुरलगायत क्षेत्रमा छापा मार्दा संलग्न व्यक्तिहरू फरार भएका थिए। तर, अनुगमनको केही दिनमै पुनः असुली सुरु भएको पाइएको भन्दै संघले चिन्ता व्यक्त गरेको छ।
प्रमुख जिल्ला अधिकारी दाहालले अवैध असुली नगर्न सम्बन्धित पक्षलाई चेतावनी दिइएको र पुनः यस्ता गतिविधि भएमा कडाइका साथ नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन्।
व्यवसायीहरूले यस्तो अवैध कर असुलीले व्यापार वातावरण बिगार्ने र यातायात क्षेत्रलाई थप बोझिलो बनाउने भन्दै स्थायी समाधानको माग गरेका छन्।

