काठमाडौँ,०३ वैशाख । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरी ले कृषि क्षेत्रमा लगानी विस्तार र विकास सहकार्यलाई थप प्रभावकारी बनाउन एसियाली विकास बैंक (एडीबी) सँग सहकार्य सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
बुधबार (वैशाख ३) भएको शिष्टाचार भेटमा मन्त्री चौधरी र नेपालका लागि एडीबी कन्ट्री डाइरेक्टर अर्नाउड काउचोइस बीच कृषि विकास, लगानी विस्तार र परियोजना कार्यान्वयन सुधारबारे विस्तृत छलफल भएको हो।
भेटका क्रममा मन्त्री चौधरीले दातृ निकायका कार्यक्रमहरूमा प्रशासनिक खर्च घटाएर प्रत्यक्ष रूपमा समुदाय र लक्षित क्षेत्रमा बढी बजेट पुग्ने व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइन्। उनले अबदेखि आयोजनासम्बन्धी कार्यक्रम ५–तारे होटलमा नगरी स्थानीय तह र परियोजना स्थलमै सञ्चालन गर्नुपर्नेमा जोड दिइन्।
छलफलमा कृषि आधुनिकीकरण, ग्रामीण अर्थतन्त्र सुदृढीकरण तथा हाल सञ्चालनमा रहेका उच्च मूल्य कृषि बाली र फलफूल विकास परियोजनाका उपलब्धि र चुनौतीबारे समीक्षा गरिएको थियो।
मन्त्री चौधरीले बीउबिजन र नर्सरी व्यवस्थापनमा देखिएका समस्या समाधान गर्दै परियोजनालाई छिटो र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताइन्।
यसैगरी, एडीबीले प्रस्ताव गरेको नेपाल हरित तथा उत्थानशील वित्तीय सुविधा (Green and Resilient Financing Facility) प्रति मन्त्रालयले सकारात्मक धारणा राखेको पनि उनले जानकारी दिइन्। उक्त पहलअन्तर्गत जलवायु अनुकूल कृषि, साना तथा मझौला कृषि उद्यम तथा नवप्रवर्तनमा लगानी विस्तार गर्ने लक्ष्य रहेको छ।
भेटमा भू–जल पुनर्भरण, कृषि अनुसन्धान तथा निजी क्षेत्रको सहभागिता बढाउने विषयमा समेत छलफल भएको जनाइएको छ।

