बीरगन्ज,०६ वैशाख । बीरगन्जमा त्रिभुवन राजपथ अन्तर्गत गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडक खण्ड फराकिलो बनाउने कार्य आज बिहानैदेखि तीव्र रूपमा सुरु भएको छ। सर्वोच्च अदालतले सडक विस्तारको पक्षमा फैसला दिएपछि सडक डिभिजन कार्यालय हेटौँडाले लामो समयदेखि रोकिएको अभियानलाई पुनः अघि बढाएको हो।
विस्तार अभियानका लागि गण्डक, पावरहाउस, घण्टाघर, आदर्शनगर र मितेरी पुल क्षेत्रमा एकैसाथ डोजर, जेसीभी र एक्साभेटर परिचालन गरिएको छ। सडकको दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रभित्र रहेका स्थायी तथा अस्थायी संरचनाहरू हटाउने काम भइरहेको छ।

यसअघि करिब १२०० भन्दा बढी घरधनीहरूले सडक विस्तारले आफ्नो बसोबास जोखिममा पर्ने भन्दै अदालतमा रिट दायर गरेका थिए। तर गत फागुन २८ गते सर्वोच्च अदालतले रिट खारेज गर्दै विस्तार कार्यलाई कानुनी मान्यता दिएको थियो।
तर, प्रशासनले कार्य सुरु गर्नुअघि छोटो सूचना दिँदै केवल १२ घण्टाभित्र संरचना खाली गर्न निर्देशन दिएको भन्दै स्थानीय बासिन्दाहरू असन्तुष्ट छन्। पर्याप्त समय नदिई अचानक डोजर चलाइएको आरोप लगाउँदै उनीहरूले आक्रोश व्यक्त गरेका छन्।

डोजर अभियानसँगै प्रभावित क्षेत्रमा विद्युत आपूर्ति समेत अवरुद्ध भएको छ, जसले दैनिक जनजीवनमा थप समस्या निम्त्याएको छ। अहिले ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने आफ्ना घरहरू भत्किँदै गरेको दृश्य हेर्न बाध्य स्थानीयहरू मानसिक तनाव र पीडामा देखिएका छन्।

सडक विस्तारले दीर्घकालीन रूपमा यातायात सहज बनाउने अपेक्षा गरिएको भए पनि तत्कालका लागि यसले स्थानीय समुदायमा ठूलो असर पारेको देखिन्छ।

