काठमाडौं,०६ वैशाख । नेकपा एमालेका अध्यक्षकेपी शर्मा ओली २१ दिनको उपचारपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्। पत्थरीको सफल शल्यक्रियापछि स्वास्थ्यमा सुधार आएपछि शनिबार साँझ उनी अस्पतालबाट निस्किएर भक्तपुरको गुण्डुस्थित आफ्नै निवासतर्फ गएका हुन्।
ओलीलाई चैत १४ गते प्रहरीले पक्राउ गरेको थियो। नेपाल प्रहरीले ‘जेनजी आन्दोलन’ सम्बन्धी घटनाको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको थियो। पक्राउपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएकोमा थप समस्या देखिएपछि उनी त्यहीँ भर्ना भएका थिए।
अस्पतालमै राखेर अनुसन्धान भइरहेको अवस्थामा उनकी पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। त्यसपछि अदालतको आदेशअनुसार चैत २६ गते ओली हिरासतबाट मुक्त भएका थिए। प्रहरीले उनलाई अस्पतालमै हाजिरी जमानीमा रिहा गरी पत्नीको जिम्मा लगाएको थियो।
यसअघि नै उनको पित्तथैलीमा पत्थरी देखिएको थियो, जसको शल्यक्रिया चैत ३० गते गरिएको थियो। शल्यक्रियापछि केही दिन उपचारमा राखेपछि अन्ततः स्वास्थ्य अवस्थामा सुधार आएसँगै अस्पतालले डिस्चार्ज दिएको हो।

