काठमाडौँ,०७ वैशाख । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आरोपमा दायर बहुचर्चित मुद्दाको सुनुवाइ स्थगित भएको छ। जिल्ला अदालत काठमाडौं मा आजका लागि तोकिएको पेशी जिल्ला सरकारी वकिल कार्यालयको निवेदनपछि रोकिएको हो।
न्यायाधीश ईश्वरीप्रसाद भण्डारी को इजलासमा सुनुवाइ हुने तय भए पनि अन्तिम समयमा स्थगित गरिएको अदालत स्रोतले जनाएको छ।
यस प्रकरणमा नक्कली कागजात तयार गरी संगठित गिरोहमार्फत नेपाली नागरिकलाई भुटानी शरणार्थीका रूपमा प्रस्तुत गरिएको आरोप छ। मुद्दा संगठित अपराध, ठगी, किर्ते र राज्यविरुद्धको अपराधसहित पाँच विभिन्न कसुरमा दायर गरिएको थियो।
२०८० जेठ १० गते दायर गरिएको मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे लगायत उच्च पदाधिकारीसहित ३० जनालाई प्रतिवादी बनाइएको छ।
मुद्दा दायर भएपछि पक्राउ परेकामध्ये केही अभियुक्त थुनामा राखिएका छन् भने केही धरौटी र तारेखमा छुटेका छन्। प्रारम्भमा फरार रहेका कतिपय अभियुक्त पक्राउ परिसके पनि अझै केही फरार अवस्थामै रहेका छन्।
यस प्रकरणमा मुख्य बिचौलिया समूहका सदस्यहरू र विभिन्न तहका राजनीतिक तथा प्रशासनिक व्यक्तिहरू संलग्न रहेको अभियोग छ। पछिल्लो समय पूरक अभियोगपत्रसमेत दायर भइसकेको छ भने सबै मुद्दाहरूलाई एकैसाथ लगाउमा राखेर सुनुवाइ प्रक्रिया अघि बढाइएको छ।
करिब साढे दुई वर्षपछि अन्तिम सुनुवाइको चरणमा पुगेको यो मुद्दा स्थगित भएपछि न्यायिक प्रक्रियामा थप ढिलाइ हुने देखिएको छ।

