गृहमन्त्री गुरुङ प्रकरणमा रास्वपाभित्र छलफल, केन्द्रीय समितिबाट निर्णय आउने तयारी

spot_img

काठमाडौँ,०७ वैशाख । गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङ सम्बन्धी विवादबारे पार्टीभित्र आन्तरिक छलफल तीव्र बनेको छ। उनीमाथि उठेका आरोपबारे छानबिन र सम्भावित कारबाहीका विषयमा सोमबार केन्द्रीय समिति बैठकमा निर्णय हुने तयारी गरिएको स्रोतले जनाएको छ।

पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटी र अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमाल बीच बिहानै यस विषयमा प्रारम्भिक छलफल भएको बताइएको छ। विषय गम्भीर रहेकाले औपचारिक निर्णयका लागि केन्द्रीय समिति बैठक कुर्नुपर्ने अवस्था रहेको स्रोतको भनाइ छ।

गुरुङ गृहमन्त्री बनेको केही समयमै सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका विवादास्पद व्यापारी दीपक भट्ट र शंकर ग्रुप सँग व्यावसायिक साझेदारी रहेको समाचार सार्वजनिक भएपछि विवाद चर्किएको हो।

प्रहरी हिरासतमा रहेका भट्टसँग सम्बन्ध रहेको दाबी सार्वजनिक भएपछि गुरुङमाथि चौतर्फी आलोचना भइरहेको छ। पार्टीभित्र पनि यस विषयलाई गम्भीर रूपमा लिएर छानबिन प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

महामन्त्री बुर्लाकोटीले गुरुङको लगानी कानुनी छ वा छैन भन्ने विषयमा सम्बन्धित पक्षसँग सोधपुछ गरेर निष्कर्षमा पुगिने बताएका छन्। उनले सरकारबाट हुने अनुसन्धानको प्रतिक्षा गर्दै, दोषी प्रमाणित भए जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइने स्पष्ट पारे।

यसअघि पनि दीपक साह विरुद्ध पदीय दुरुपयोगको आरोप लागेपछि अनुशासन समितिले कारबाही सिफारिस गरेको थियो, जसअनुसार प्रधानमन्त्री बालेन शाह ले उनलाई पदमुक्त गरेका थिए।

गुरुङ प्रकरणमा केन्द्रीय समितिको निर्णयले रास्वपाको आन्तरिक अनुशासन र नेतृत्वको विश्वसनीयतामाथि महत्त्वपूर्ण प्रभाव पार्ने विश्लेषण गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय