राजविराज,०७ वैशाख । सप्तरीका प्रहरी उपरीक्षक (एसपी) गौतमकुमार केसीले सर्वसाधारणलाई गालीगलौज र धम्की दिएको भन्दै सार्वजनिक भएको फोन संवाद सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाबारे औपचारिक छानबिन सुरु गरिएको छ।
मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपी कमल थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिले घटनाको सत्यतथ्य पत्ता लगाउने र प्रतिवेदनका आधारमा आवश्यक कारबाही सिफारिस गर्ने बताइएको छ।
मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले छानबिन निष्पक्ष रूपमा अघि बढाइने स्पष्ट पारेका छन्। उनका अनुसार प्रतिवेदन आएपछि दोषी देखिएमा कानुनअनुसार कारबाही हुनेछ।
भाइरल भएको अडियो संवाद तिलाठी कोइलाडी गाउँपालिका–४ का सञ्चारकर्मी प्रह्लाद सिंह ‘विक्की’ र एसपी केसीबीच भएको भनिएको छ। उक्त संवादमा एसपी केसीले राजविराज नगरपालिका–३ का मुस्तकिम आलमलाई लक्षित गर्दै अपशब्द प्रयोग गरेको र धम्की दिएको सुनिन्छ।
घटनापछि सामाजिक सञ्जालमा एसपी केसीको आलोचना तीव्र बनेको छ। मुस्तकिम आलमले भने आफूले अन्यायविरुद्ध आवाज उठाएकै कारण धम्की आएको दाबी गरेका छन्। उनले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।
यता एसपी केसीले भने संवादको अंश तोडमोड गरिएको हुन सक्ने दाबी गर्दै आफूले गालीगलौज वा धम्की नदिएको स्पष्ट पारेका छन्। उनले भने, “मैले त्यस्तो कुनै अभद्र व्यवहार गरेको छैन।”
घटनाले प्रहरी नेतृत्व र सर्वसाधारणबीचको सम्बन्धबारे प्रश्न उठाएको छ भने छानबिन समितिको प्रतिवेदनलाई चासोका साथ हेरिएको छ।

