भन्सार कडाइले सीमा क्षेत्र प्रभावित, पुनर्विचार गर्न अर्थमन्त्री यादवको आग्रह

spot_img

जनकपुर,०७ वैशाख । मधेश प्रदेशका अर्थमन्त्री महेशप्रसाद यादवले सीमा क्षेत्रमा लागू गरिएको भन्सार कडाइका कारण सर्वसाधारणको दैनिक जीवनमा समस्या बढेको भन्दै संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबार जारी वक्तव्यमा उनले भारतसँगको खुला सीमामा लागू भएका हालका व्यवस्थाले दैनिक उपभोग्य वस्तु ल्याउन–लैजान कठिन भएको बताएका छन्। उनका अनुसार यसले केवल आर्थिक गतिविधिमा मात्र होइन, नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको सामाजिक र सांस्कृतिक “बेटी–रोटी” सम्बन्धमै पनि असर पार्न थालेको छ।

यादवले यस्तो नीति लागू गर्दा स्थानीयको वास्तविक अवस्था बुझेर नागरिकमैत्री र व्यवहारिक निर्णय लिनुपर्नेमा जोड दिएका छन्। सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको संवेदनशीलतालाई ध्यानमा राख्दै सन्तुलित नीति आवश्यक रहेको उनको भनाइ छ।

यसैबीच, उनले मधेश प्रदेशका विभिन्न स्थानमा भइरहेको सडक र फुटपाथ व्यवस्थापनप्रति पनि चिन्ता व्यक्त गरेका छन्। अव्यवस्थित बजार हटाउने क्रममा साना तथा निम्न आय भएका व्यवसायीलाई वैकल्पिक व्यवस्था बिना हटाउँदा उनीहरूको रोजगारी नै जोखिममा परेको उनले उल्लेख गरेका छन्।

उनका अनुसार, सडक व्यवस्थापन आवश्यक भए पनि त्यसबाट प्रभावित व्यवसायीको पुनःस्थापना सुनिश्चित गर्न स्पष्ट योजना अनिवार्य छ। अन्यथा, साना उद्यमीको आर्थिक अवस्था झन् कमजोर बन्न सक्ने चेतावनी उनले दिएका छन्।

अन्त्यमा, अर्थमन्त्री यादवले नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित निकायलाई दुवै विषयमा समन्वय, संवाद र दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय