देशभर २०औँ लोकतन्त्र दिवस मनाइँदै, जनआन्दोलनको सम्झनामा विविध कार्यक्रम

spot_img

काठमाडौं,११ वैशाख । आज देशभर २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। विसं २०६३ वैशाख ११ गते भएको ऐतिहासिक राजनीतिक परिवर्तनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिएको हो।

त्यही दिन तत्कालीन राजा ज्ञानेन्द्र शाह ले आन्दोलनरत दलहरूको मार्गचित्रअनुसार विघटित संसद् पुनर्स्थापना गरेका थिए। यस घटनालाई जनताको जितको रूपमा लिँदै विसं २०६४ देखि औपचारिक रूपमा लोकतन्त्र दिवस मनाउन थालिएको हो।

२०५९ सालमा संसद् विघटनपछि देशमा राजनीतिक अस्थिरता बढेको थियो। निर्वाचन हुन नसक्दा राजाले पटक–पटक प्रधानमन्त्री परिवर्तन गर्ने क्रम चल्यो। त्यस क्रममा लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए।

विसं २०६१ माघ १९ मा राजाले सत्ता आफ्नो हातमा लिएपछि राजनीतिक दलहरू र तत्कालीन माओवादीबीच १२ बुँदे समझदारी भयो, जसले आन्दोलनलाई नयाँ दिशा दियो। गिरिजाप्रसाद कोइराला को नेतृत्वमा सुरु भएको जनआन्दोलन चुलिँदै जाँदा लाखौँ जनता सडकमा उत्रिएका थिए।

जनदबाबपछि राजा ज्ञानेन्द्रले वैशाख ११ मा संसद् पुनर्स्थापना घोषणा गरे, जसले नेपालमा लोकतन्त्र पुनःस्थापित गर्‍यो। यसैलाई लोकतन्त्र दिवसको रूपमा मनाइन्छ, जसले गणतन्त्रको आधार तयार पारेको मानिन्छ।

यसपछि २०६३ जेठ ४ को संसद्ले राजसंस्थाको अधिकार कटौती गर्दै महत्वपूर्ण निर्णयहरू गर्‍यो, जसलाई “नेपाली म्याग्नाकार्टा” पनि भनिन्छ। त्यसैको जगमा २०६४ मा पहिलो संविधानसभा निर्वाचन भयो र अन्ततः २०६५ जेठ १५ गते राजसंस्थाको अन्त्य गर्दै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भयो।

पछि दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते नेपालको संविधान जारी भयो, जसअनुसार अहिले संघीय, प्रादेशिक र स्थानीय तहका सरकारहरू सञ्चालनमा छन्। लोकतन्त्र स्थापना र संस्थागत विकासको यही ऐतिहासिक यात्राको सम्झनामा आजको दिन विशेष रूपमा मनाइँदैछ।

spot_img

ताजा अपडेट

लोकप्रिय