वीरगन्ज,१८ वैशाख । देशकै पहिलो विशेष आर्थिक क्षेत्र (SEZ) सिमराको ठूलो हिस्सा वर्षौंदेखि अतिक्रमणमा परेको तथ्य सार्वजनिक भएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणका अनुसार कुल ८३३ बिघा क्षेत्रफलमध्ये करिब ४९० बिघा जग्गा अतिक्रमणमा रहेको छ भने ३४३ बिघा मात्र प्राधिकरणको प्रत्यक्ष नियन्त्रणमा रहेको छ।
प्राधिकरणका साइट इन्चार्ज इन्जिनियर पप्पु गिरीका अनुसार आर्थिक क्षेत्र स्थापना भएदेखि नै अतिक्रमण हटाउने प्रयास हुँदै आए पनि अपेक्षित परिणाम आउन सकेको छैन। उक्त जग्गा पूर्वमा वीरगञ्ज चिनी कारखानाको स्वामित्वमा रहेको थियो।
चिनी कारखाना सञ्चालनका क्रममा उखु खेतीका लागि केही मजदुरलाई अस्थायी रूपमा बसोबास गर्न दिइएको थियो। तर समयसँगै ती बस्ती विस्तार हुँदै स्थायी घरटहरा निर्माण हुन थालेको र बाहिरबाट समेत मानिस आएर बसोबास गर्न थालेको प्राधिकरणले जनाएको छ।
हाल आर्थिक क्षेत्रभित्र करिब ६ सय घरटहरा निर्माण भइसकेका छन् भने अतिक्रमित क्षेत्रमा खेतीपातीसमेत भइरहेको छ। SEZ क्षेत्रलाई एदेखि ईसम्म पाँच ब्लकमा विभाजन गरिएकोमा ‘ए ब्लक’ बाहेकका अधिकांश क्षेत्र अतिक्रमणमा परेको बताइएको छ।
प्राधिकरणले विगतमा पनि अतिक्रमण हटाउने प्रयास गरे पनि स्थानीयको विरोधका कारण काम अघि बढ्न नसकेको जनाएको छ। तर यसपटक संघीय सरकारको निर्देशनपछि जीतपुर–सिमरा उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी अतिक्रमण हटाउने प्रक्रिया तीव्र बनाइएको छ।
प्राधिकरणका अनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी छिट्टै जग्गा खाली गराउने तयारी भइरहेको छ।

