काठमाडौं,१८ वैशाख । लामो समयदेखि प्रतीक्षामा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अब सञ्चालनको अन्तिम चरणमा पुगेको छ। सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनका लागि आयोजना र सेवा प्रदायक कम्पनी युसिन–एआरटी जेभीबीच औपचारिक सम्झौता भएको छ।
आयोजना प्रमुख सौजन्य नेपालका अनुसार उक्त कम्पनीले आगामी पाँच वर्षसम्म सुरुङमार्ग सञ्चालन र मर्मतसम्भारको जिम्मेवारी सम्हाल्नेछ। कार्यतालिका अनुसार सेवा प्रदायक कम्पनी वैशाख अन्त्यसम्म कार्यक्षेत्रमा परिचालन हुने र त्यसपछि प्राविधिक जनशक्तिलाई आवश्यक तालिम दिइनेछ।
आयोजनाले असार अन्त्यसम्म परीक्षण सञ्चालन सम्पन्न गरी सबै प्राविधिक र सुरक्षा पक्ष सुनिश्चित गर्ने लक्ष्य लिएको छ। त्यसपछि साउन महिनादेखि सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिने तयारी गरिएको छ।
सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगाको घुमाउरो सडक र ट्राफिक जामको समस्या धेरै हदसम्म कम हुने अपेक्षा गरिएको छ। आधुनिक प्रविधि र सुरक्षा मापदण्डसहित निर्माण गरिएको यो सुरुङमार्गले यात्रा समय घटाउनुका साथै यात्रालाई थप सुरक्षित र सहज बनाउने विश्वास गरिएको छ।
सम्झौताअनुसार सेवा प्रदायक कम्पनीले सुरुङभित्रको ट्राफिक व्यवस्थापन, टोल संकलन, नियमित मर्मतसम्भार र २४ सै घण्टा निगरानी गर्नेछ। साथै आपतकालीन अवस्थामा उद्धार तथा राहत कार्यमा समेत समन्वय गर्ने जिम्मेवारी पनि सोही कम्पनीलाई दिइएको छ।

