नारायणगढ,२७ वैशाख । चितवनमा सञ्चालनमा रहेका सबै एम्बुलेन्समा अब अनिवार्य रूपमा जीपीएस प्रणाली जडान गर्नुपर्ने भएको छ। एम्बुलेन्स सेवालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन यस्तो व्यवस्था लागू गरिएको हो।
जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिल्लाभर सञ्चालनमा रहेका एम्बुलेन्सहरूको एकीकृत तथ्याङ्क संकलन र जीपीएस जडानलाई अनिवार्य गर्ने निर्णय गरेको हो। बैठक गणेश अर्याल को अध्यक्षतामा बसेको थियो।
निर्णयअनुसार सबै एम्बुलेन्सले सात दिनभित्र आफ्नो विवरण जनस्वास्थ्य कार्यालय चितवन मा दर्ता गराउनुपर्नेछ। दर्ता भएका एम्बुलेन्सले त्यसपछि १५ दिनभित्र जीपीएस प्रणाली जडान गरी कार्यालयलाई जानकारी दिनुपर्नेछ। तोकिएको समयभित्र विवरण नबुझाउने वा जीपीएस जडान नगर्ने एम्बुलेन्समाथि सञ्चालन रोक लगाइने चेतावनी दिइएको छ।
बैठकले एम्बुलेन्सको भाडादर र पार्किङ व्यवस्थापनलाई पनि कडाइ गर्ने निर्णय गरेको छ। अब उपसमितिले सिफारिस गरेको भाडादरअनुसार मात्रै सेवा सञ्चालन गर्न पाइनेछ। बिरामी पुर्याइसकेपछि एम्बुलेन्स तुरुन्त आफ्नो कार्यक्षेत्रमा फर्किनुपर्ने र अस्पताल परिसरमा अनावश्यक पार्किङ गरे कारबाही गरिने बताइएको छ।
सम्भावित दुर्घटना र आकस्मिक अवस्थालाई मध्यनजर गर्दै भण्डारा र मुग्लिङ क्षेत्रमा स्वास्थ्यकर्मीसहित २४सै घण्टा सञ्चालन हुने ‘डेडिकेटेड एम्बुलेन्स’ पनि परिचालन गरिने भएको छ। ती एम्बुलेन्सका लागि छुट्टाछुट्टै टोलफ्री नम्बर उपलब्ध गराइने तयारी गरिएको छ।
प्रमुख जिल्ला अधिकारी अर्यालले यी निर्णयले बिरामीले समयमै सेवा पाउने, एम्बुलेन्सको अवस्थिति निगरानी गर्न सहज हुने तथा सेवा क्षेत्रमा देखिएका विकृति नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
बैठकमा चीरञ्जीवी सुवेदी, निर्मल घिमिरे, गोविन्द पुरी, नवराज लामिछाने लगायत सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।




