बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी मे १३ देखि १५ तारिखसम्म चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा हुन लागेको यो भ्रमणलाई अमेरिका–चीन सम्बन्धको दृष्टिले निकै महत्त्वपूर्ण मानिएको छ।
बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयले सोमबार भ्रमणको औपचारिक घोषणा गरेको हो। करिब नौ वर्षपछि कुनै अमेरिकी राष्ट्रपतिले चीन भ्रमण गर्न लागेको यो पहिलो अवसर भएको बताइएको छ।
पश्चिम एसियामा जारी तनाव, अमेरिका–इरानबीचको नाजुक युद्धविराम तथा होर्मुज जलडमरूमध्यको अवरोधका कारण विश्व अर्थतन्त्र दबाबमा रहेका बेला ट्रम्पको चीन भ्रमण हुन लागेको हो। ऊर्जा मूल्यमा आएको वृद्धि र अन्तर्राष्ट्रिय व्यापारमा देखिएको अनिश्चितताबीच यो भ्रमणलाई विश्वले चासोका साथ हेरिरहेको छ।
अमेरिकी प्रधान उप–प्रेस सचिव एना केलीका अनुसार ट्रम्प मे १३ को साँझ बेइजिङ पुग्नेछन्। भ्रमणका क्रममा मे १४ मा ट्रम्प र सी चिनफिङबीच औपचारिक स्वागत समारोह तथा द्विपक्षीय वार्ता हुनेछ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार ट्रम्पले ऐतिहासिक ‘टेम्पल अफ हेभेन’ भ्रमण गर्नुका साथै राजकीय भोजमा पनि सहभागी हुने कार्यक्रम तय गरिएको छ। मे १५ मा दुई नेताबीच पुनः चिया भेटघाट र कार्यकारी भोजन हुने बताइएको छ।
यसैबीच अमेरिका र चीनबीच व्यापार वार्तालाई पनि तीव्र बनाइएको छ। चिनियाँ उपप्रधानमन्त्री ख लिफेङले मे १२ र १३ मा दक्षिण कोरियाको बुसानमा अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
ट्रम्पको चीन भ्रमणअघि हुने यो वार्तालाई सम्भावित व्यापार सम्झौताको अन्तिम तयारीका रूपमा हेरिएको छ। दुवै देशबीच भन्सार शुल्क, व्यापार सन्तुलन तथा आर्थिक सहकार्यका विषयमा छलफल केन्द्रित हुने जनाइएको छ।




