काठमाडौँ,२८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्वसञ्चारमन्त्री जगदीश खरेलले स्मार्ट टेलिकम घोटाला प्रकरणमा आफ्नो नाम जोडेर आएका समाचारप्रति कडा आपत्ति जनाएका छन्। उनले आफूलाई बदनाम गर्ने उद्देश्यले नियोजित रूपमा गलत प्रचार गरिएको दाबी गरेका छन्।
सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद खरेलले उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारे। उनले यदि आफ्नो विरुद्ध लगाइएका आरोप प्रमाणित भएमा सक्रिय राजनीतिक जीवन नै त्याग्ने घोषणा समेत गरे।
“स्मार्ट टेलिकमको ३० अर्बको घोटाला प्रकरणमा मेरो नाम जोडेर आएका समाचार पूर्ण रूपमा आधारहीन छन्,” उनले भने, “यदि मैले मन्त्री हुँदा एउटा पनि गलत निर्णय गरेको प्रमाणित भयो भने म राजनीतिबाट सधैंका लागि अलग हुन तयार छु।”
खरेलले सञ्चारमन्त्रीको रूपमा कार्यरत रहँदा सम्बन्धित कम्पनीका प्रतिनिधिसँग कुनै औपचारिक बैठक समेत नगरेको दाबी गरे। आफू र आफ्नो दललाई लक्षित गरी चरित्रहत्या गर्ने प्रयास भएको उनको आरोप थियो।
उनले यस्ता भ्रामक समाचारले संसद्, राजनीतिक दल र व्यक्तिगत प्रतिष्ठामाथि समेत आँच पुर्याएको भन्दै आपत्ति जनाए। साथै, उनले प्रेस काउन्सिललाई आवश्यक छानबिन र कारबाही गर्न पनि आग्रह गरेका छन्।




