spot_img

मापदण्ड उल्लंघन गरेको भेटिएपछि कलश मिल्क इन्डस्ट्रिजमा अनुगमन

spot_img
spot_img

बीरगन्ज,२८ वैशाख । उपभोक्ता हित संरक्षण मञ्चको उजुरीपछि पर्साको पकाहा मैनपुर गाउँपालिका–१, धोरेस्थित कलश मिल्क इन्डस्ट्रिज प्रा.लि. मा अनुगमन टोलीले छापा मारेको छ। अनुगमनका क्रममा उद्योगले तोकिएको स्वच्छता तथा गुणस्तर मापदण्ड उल्लंघन गरेको पाइएको छ।

दुग्ध तथा दुग्धजन्य पदार्थ—दूध, आइसक्रिम, घ्यू, खोवा र पनिर उत्पादन गर्दै आएको उक्त उद्योगमा “दुग्ध तथा दूध पदार्थ उत्पादनको स्वच्छता एवं गुणस्तर निर्देशिका–२०७५” अनुसारका आवश्यक मापदण्ड पूरा नभएको अनुगमन टोलीले जनाएको छ।

अनुगमनका क्रममा उद्योग परिसरमा सरसफाइको कमी, उत्पादनमा प्रयोग हुने उपकरणहरू जिर्ण अवस्थामा रहेको तथा आवश्यक कागजात अद्यावधिक नभएको फेला परेको बताइएको छ। यसले उपभोक्ताको स्वास्थ्यमा जोखिम बढाउन सक्ने भन्दै टोलीले तत्काल सुधार गर्न निर्देशन दिएको छ।

टोलीले उद्योगलाई लिखित रूपमा निर्देशन जारी गर्दै २४ घण्टाभित्र आवश्यक कागजातसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन समेत आदेश दिएको छ। तोकिएको समयभित्र स्पष्टीकरण नदिए खाद्य ऐनअनुसार थप कारबाही हुने चेतावनी दिइएको छ।

अनुगमनमा सहभागी अधिकारीहरूले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका उद्योगहरूमा मापदण्डको कडाइका साथ पालना आवश्यक रहेको बताएका छन्। आगामी दिनमा यस्ता उद्योगमा नियमित तथा कडा अनुगमन जारी रहने पनि उनीहरूको भनाइ छ।

अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय