काठमाडाैं,२८ वैशाख । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कर्णाली प्रदेश मा कांग्रेस नेतृत्वमा सरकार गठन हुने समय आएको बताएका छन्। सुर्खेतमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ लाई सम्बोधन गर्दै उनले पुरानो राजनीतिक समझदारीअनुसार अब कांग्रेसले प्रदेश सरकारको नेतृत्व गर्ने अवस्था बनेको दाबी गरे।
थापाका अनुसार नेपाली कांग्रेस र नेकपा एमाले बीच भएको समझदारीका आधारमा कर्णाली प्रदेशमा कांग्रेसले सरकार सञ्चालन गर्ने समय आएको हो। उनले अब सरकारको नेतृत्व कांग्रेसले गर्ने र प्रदेशको हितमा काम अघि बढाउने बताएका छन्।
उनले कार्यक्रममा कर्णाली प्रदेश सरकार कांग्रेस नेतृत्वमा बन्ने विषय उठाउँदा सहभागीहरूले ताली बजाएर समर्थन जनाएका थिए। त्यसलाई संकेत गर्दै उनले एक वर्षपछि फेरि कर्णालीमा फर्किएर सरकारको उपलब्धि मूल्यांकन गर्ने बताए।
थापाले सरकार गठनभन्दा बढी महत्वपूर्ण विषय “डेलिभरी” भएको उल्लेख गर्दै सरकार बनेपछि जनताको अपेक्षाअनुसार काम हुनुपर्नेमा जोड दिए। उनले सरकार बनाउने विषयभन्दा जनसेवा र परिणाममुखी काम मुख्य प्राथमिकता हुनुपर्ने धारणा राखे। उनका अनुसार कांग्रेसको नेतृत्वमा सरकार बनेपछि राजनीतिक भागबन्डाभन्दा विकास र सेवा प्रवाहमा ध्यान केन्द्रित हुनुपर्नेछ।




