वीरगञ्ज, २८ बैशाख – पढ्दै–कमाउँदै संस्कारसहितको शिक्षामा जोड दिँदै आएको वीरगञ्ज कलेज, श्रीपुरले शिक्षक – शिक्षिकाका छोराछोरीलाई विशेष छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ।
वीरगञ्ज कलेज प्रा.लि.को सञ्चालक समितिको बैठकले सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकाका सन्तानलाई कम्तीमा २५ प्रतिशतसम्म छात्रवृत्ति दिने निर्णय गरेको हो।

शिक्षक–शिक्षिकाले नेपाली समाजमा योग्य जनशक्ति उत्पादन गर्न खेलेको महत्वपूर्ण भूमिका र उनीहरूको मेहनतलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको कलेजका अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीले जानकारी दिए। उनका अनुसार यस निर्णयले शिक्षकका सन्तानलाई कम शुल्कमा गुणस्तरीय शिक्षा हासिल गर्न थप सहयोग पुग्नेछ।
डा. चौधरीले कलेजले यसअघि देखि प्रदान गर्दै आएको जेहेन्दार तथा न्यून आय भएका परिवारका विद्यार्थीलाई दिइने छात्रवृत्ति कार्यक्रम पनि यथावत् रहने बताए।
छोटो समयमै वीरगञ्जमा राम्रो पहिचान बनाउन सफल कलेजले विद्यार्थीहरूको उद्यमशीलता विकासका लागि विभिन्न कार्यक्रम तथा तालिमहरू सञ्चालन गर्दै आएको छ।
कलेजले व्यवस्थापन, कानुन, पत्रकारिता लगायत विभिन्न विषयमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरेको समेत जानकारी दिएको छ।




