spot_img

बोक्सी आरोपमा महिलामाथि निर्घात कुटपिट, एक जना पक्राउ

spot_img
spot_img

रौतहट,०३ जेठ । रौतहटको कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एक एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट र अमानवीय व्यवहार गरिएको घटना सार्वजनिक भएको छ। स्थानीय केही व्यक्तिहरूले अन्दाजी ५५ वर्षीया महिलालाई बोक्सी भन्दै सार्वजनिक रूपमा निर्घात कुटपिट गर्नुका साथै जबरजस्ती मलमूत्र खुवाएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न मुख्य आरोपितमध्ये एक राजेन्द्र माझीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनलाई ‘बोक्सी आरोप (कसूर तथा सजाय) ऐन’ अन्तर्गत नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गाउँकै केही व्यक्तिहरूले ती महिलामाथि तन्त्रमन्त्र गरेर आफन्त बिरामी बनाएको आरोप लगाएका थिए। त्यसपछि आक्रोशित समूहले महिलालाई घरबाट बाहिर निकालेर सार्वजनिक रूपमा दुर्व्यवहार गरेको बताइएको छ।

घटना बाहिरिएपछि संलग्न अन्य व्यक्तिहरू फरार भएका छन्। प्रहरीका अनुसार उनीहरूको पहिचान भइसकेको छ र खोजी कार्य जारी छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी विष्णु प्रदीप बस्यालले कमजोर र असहाय महिलामाथि भएको यस्तो अमानवीय व्यवहार सह्य नहुने भन्दै दोषीमाथि कडा कानुनी कारबाही गरिने बताएका छन्।

यस घटनाले ग्रामीण क्षेत्रमा अझै पनि बोक्सीको आरोप लगाएर महिला हिंसा हुने क्रम नरोकिएको देखाएको छ। विशेषगरी एकल, गरिब तथा सीमान्तकृत महिलाहरू यस्ता अन्धविश्वासको सिकार बन्ने गरेको भन्दै स्थानीय स्तरमा सचेतना र कानुनी कार्यान्वयन प्रभावकारी बनाउनुपर्ने माग उठ्न थालेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय