spot_img

जनकपुर उच्च अदालतले तीन हजारभन्दा बढी मुद्दा टुङ्ग्यायो

spot_img
spot_img

जनकपुर,०३ जेठ । जनकपुर उच्च अदालतले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म तीन हजार ११५ मुद्दा फर्छ्यौट गरेको जनाएको छ। अदालतमा पुराना र नयाँ गरी कुल पाँच हजार ६५१ मुद्दा दर्ता भएका थिए।

अदालतका शाखा अधिकृत गणेश पाण्डेका अनुसार अघिल्लो वर्षबाट सरेर आएका दुई हजार २६७ र चालु वर्षमा नयाँ दर्ता भएका तीन हजार ३८४ मुद्दामध्ये हालसम्म तीन हजारभन्दा बढी मुद्दा टुङ्ग्याइएको हो। अझै दुई हजार ५३६ मुद्दा विचाराधीन अवस्थामा रहेका छन्।

अदालतका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवरले न्यायिक सेवा प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यसहित अदालतले काम गरिरहेको बताए। उनका अनुसार पुराना मुद्दालाई प्राथमिकतामा राखेर फर्छ्यौट अभियान सञ्चालन गरिएको छ।

विवरणअनुसार अघिल्लो वर्षबाट जिम्मेवारी सरेका मुद्दामध्ये एक हजार ७२४ मुद्दा फर्छ्यौट भइसकेका छन् भने ५४३ मुद्दा बाँकी छन्। यसैगरी चालु वर्षमा दर्ता भएका मुद्दामध्ये एक हजार ३९१ मुद्दा टुङ्ग्याइएको छ भने एक हजार ९९३ मुद्दा अझै बाँकी रहेका छन्।

अदालतले कुल मुद्दा फर्छ्यौट दर ५५ दशमलव १२ प्रतिशत पुगेको जनाएको छ। लामो समयदेखि विचाराधीन रहेका मुद्दालाई पनि प्राथमिकताका साथ टुङ्ग्याउने अभियान जारी रहेको अदालतको भनाइ छ। हाल एक वर्षदेखि १८ महिनाभित्रका ३७४, १८ महिनादेखि दुई वर्षभित्रका ७० तथा दुई वर्ष नाघेका चार मुद्दा विचाराधीन छन्।

त्यसैगरी, २०८१ साल पुस मसान्तसम्म दर्ता भई बाँकी रहेका मुद्दाको संख्या १२४ रहेको अदालतले जनाएको छ।

कामु मुख्य न्यायाधीश कुँवरले नागरिकको न्यायपालिकाप्रतिको विश्वास कायम राख्न छिटो, निष्पक्ष र प्रभावकारी न्याय सम्पादन आवश्यक रहेको उल्लेख गरे। उनले न्यायमा नागरिकको पहुँच विस्तार गर्न सञ्चारमाध्यमको भूमिका पनि महत्वपूर्ण हुने बताए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय