spot_img

पप्पु कन्स्ट्रक्सनका संचालक सुमित रौनियारविरुद्ध पक्राउ गर्न अदालतको आदेश

spot_img
spot_img

वीरगन्ज,०७ जेठ । ठेक्का लिएर समयमै काम सम्पन्न नगर्ने आरोपमा पटक–पटक विवादमा आएका पप्पु कन्स्ट्रक्सन प्रालिका संचालक सुमित रौनियारविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ आदेश जारी गरेको छ। अदालतले विगो सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै तोकिएको रकम नतिरेपछि उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको हो।

वीरगन्ज महानगरपालिका–१४ का मनोज पटेल सञ्चालित प्रमोद निर्माण सेवाले दायर गरेको मुद्दामा अदालतले रौनियारलाई १ करोड १५ लाख ६५ हजार रुपैयाँ भुक्तानी गर्न आदेश दिएको थियो। उक्त रकम नतिरेको अवस्थामा दुई वर्ष कैद सजाय हुने फैसला अदालतले २०८० कात्तिक २० गते नै सुनाएको थियो।

अदालतको आदेशअनुसार गत वैशाख ३१ गते पक्राउ पुर्जी जारी भए पनि एक साताभन्दा बढी समय बितिसक्दा पनि रौनियार पक्राउ परेका छैनन्। यसप्रति मुद्दाका वादी मनोज पटेलले असन्तुष्टि जनाउँदै प्रहरीले पर्याप्त सक्रियता नदेखाएको आरोप लगाएका छन्।

पटेलका अनुसार रौनियारको राजनीतिक तथा आर्थिक पहुँचका कारण पक्राउ प्रक्रियामा ढिलाइ भइरहेको हुन सक्ने आशंका गरिएको छ।

यता, जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले अदालतको आदेश कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको बताएका छन्। उनका अनुसार फैसला कार्यान्वयन टोलीलाई रौनियार पक्राउ गर्ने जिम्मेवारी दिइएको छ भने खोजीका लागि प्राविधिक तथा भौतिक दुवै संयन्त्र परिचालन गरिएको छ।

यो विवाद वीरगन्ज महानगरभित्र सडक तथा नाला निर्माण परियोजनासँग जोडिएको हो। सघन सहरी विकास कार्यालयअन्तर्गत सञ्चालन भएको उक्त योजनामा स्वच्छन्द, पप्पु र युनाइटेड जेभीले ठेक्का लिएको थियो। निर्माणका क्रममा प्रमोद निर्माण सेवाबाट डन्डी, बालुवा लगायत सामग्री लिए पनि भुक्तानी नगरेको भन्दै अदालतमा मुद्दा दायर गरिएको थियो।

रौनियारले जिल्ला अदालतको फैसला विरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा पुनरावेदन गरेका थिए। तर, उच्च अदालतले पनि जिल्ला अदालतकै फैसला सदर गर्दै पुनरावेदन खारेज गरेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय