जनकपुर,०७ जेठ । बर्दिया प्रहरीले वैशाख महिनाभर सञ्चालन गरेको विशेष अभियानमा लागुऔषधसहित ३३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई भारतीय नागरिकसमेत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार लागुऔषध ओसारपसार र कारोबार नियन्त्रणका लागि गरिएको सर्च अपरेसनका क्रममा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकाहरूको साथबाट ३०७ ग्राम २३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सबैभन्दा धेरै १७ जना बर्दियाकै रहेका छन् । त्यसैगरी बाँकेका नौ जना, मुगु र सुर्खेतका दुई–दुई जना तथा ललितपुरका एक जना रहेका छन् । दुई जना भारतीय नागरिक पनि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये सबै पुरुष छन् भने दुई जना नाबालकसमेत रहेका छन् । उनीहरूको उमेर ४७ वर्षसम्म रहेको बताइएको छ ।
निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले अधिकांश पक्राउ परेका व्यक्ति लागुऔषध सेवनसँगै ओसारपसारमा समेत संलग्न रहेको जानकारी दिए । पक्राउ परेकामाथि लागुऔषध कारोबार ऐनअन्तर्गत अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको उनले बताए ।
वैशाख महिनामै सबैभन्दा ठूलो परिमाणको ब्राउन सुगरसहित भारतको उत्तरप्रदेश खिरी तिकुनियाका २६ वर्षीय विजय सिंह र ३५ वर्षीय तेजेन्द्र कुमार पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट २८० ग्राम ब्राउन सुगर बरामद गरिएको थियो ।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म बर्दिया प्रहरीले लागुऔषध मुद्दामा २०४ जनालाई पक्राउ गरिसकेको छ । उनीहरूको साथबाट ९१२ ग्राम ८९३ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीको तथ्यांक छ ।
खुला सीमाका कारण भारतका सीमावर्ती बजारबाट लागुऔषध नेपाल भित्रिने क्रम बढ्दो रहेको स्थानीयवासी बताउँछन् । गुलरिया नगरपालिका–११ का जगदीश यादवका अनुसार नेपाली युवाहरू भारतको लौकाही र बलैबजारजस्ता बजारमा पुगेर लागुऔषध सेवन गर्ने प्रवृत्ति बढेको छ ।
लागुऔषध नियन्त्रणका लागि प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि पक्राउ पर्नेहरूको सङ्ख्यामा अपेक्षित कमी आउन नसकेको जनाएको छ । केही समयअघि भारतबाट लागुऔषध सेवन गरेर फर्किएका एकै घरका दुई जनाको मृत्यु भएको घटना पनि बर्दियामा चर्चाको विषय बनेको थियो ।



