spot_img

ग्राभेल उत्खननविरुद्ध मिथिला नगरपालिकामा प्रदर्शन

spot_img
spot_img

जनकपुर,०७ जेठ । धनुषाको मिथिला नगरपालिका–९ स्थित बडहरी खोलामा भइरहेको ग्राभेल उत्खननको विरोध गर्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् ।

उत्खनन कार्य तत्काल रोक्न माग गर्दै स्थानीयले बिहीबार मिथिला नगरपालिकाको कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरेका थिए । विरोधका क्रममा केही समय पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध भएको थियो ।

आन्दोलनरत स्थानीयका अनुसार खोलामा अव्यवस्थित रूपमा ग्राभेल उत्खनन गर्दा आसपासका खेतीयोग्य जमिन जोखिममा परेको छ । उत्खननपछि खोलामा गहिरा खाडल बनाएर छोडिने भएकाले बालबालिका डुब्ने खतरा बढेको उनीहरूको भनाइ छ ।

स्थानीय अगुवा नागेन्द्र महतोले वातावरणीय सन्तुलन बिग्रिनुका साथै मानवीय जोखिमसमेत बढ्दै गएको भन्दै उत्खनन तत्काल बन्द गर्नुपर्ने माग गरे । “ठेक्का सम्झौता नै खारेज गरेर भए पनि काम रोक्नुपर्छ,” उनले भने, “अब बडहरी खोलाबाट एउटा ट्याक्टरलाई पनि ग्राभेल लैजान दिँदैनौँ ।”

मिथिला नगरपालिकाले बडहरी, बसही, औरही, जलाधार र रातु खोलासहित नगर क्षेत्रका छ वटा खोलाबाट ग्राभेल उत्खननका लागि काठमाडौंस्थित नेरिसा कन्ट्रक्सन कम्पनी प्रालिलाई तीन करोडभन्दा बढी रकममा ठेक्का दिएको जनाएको छ ।

स्थानीयले माग पूरा नभएसम्म आन्दोलन अझ सशक्त बनाउने चेतावनी दिएका छन् ।

यता स्थानीयको विरोध बढेपछि मिथिला नगरपालिकाका प्रवक्ता रामबहादुर स्याङ्दनले जनचासोलाई सम्बोधन गर्ने गरी छलफल भइरहेको बताए । आवश्यक प्रक्रिया पूरा गरेर ठेक्का रद्द गर्ने विषयमा समेत नगरपालिका गम्भीर रूपमा छलफलमा रहेको उनले जानकारी दिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय